हरिप्रसाद लामिछाने र राजकुमारीका जेठा छोराका रूपमा शङ्करको जन्म वि.सं. १९८४ साल चैत ५ गते काठमाडौंको जैसीदेवलमा भएको थियो। उनी सानै छँदा उनको पिता तथा माताको संबन्ध चिसिएकाले आफ्नो दूधे भाइसँगै आमाका पछि लागेर मावलीघर बनारस पुगे। त्यहाँ पुग्ने वित्तिकै यिनको भाइको निधन भयो। बनारसमा आमाले स्कुलमा पढाएर छोरो पालिन्। अनि एक दशकको हाराहारीमा उनकी आमाको पनि निधन भयो। त्यसपछि किशोरावस्थाको आरम्भमा नै उनी फेरि काठमाडौं आए। लामिछानेले आइएस्सीसम्मको अध्ययन गरे। अनि उनी जागीरमा लागे। राणाकालीन युगको समाप्तिको पूर्वसन्ध्यामा उनले गुठी अड्डामा खरदारको पदमा जागीर खाए। त्यसपछि उनी नेपाल-भारत सांस्कृतिक केन्द्रको पुस्तकालयको अध्यक्ष भए। त्यहाँ उनको जागीर भएको केही समयपछि भारतीय राजदूतावासमा राजदूत र साँस्कृतिक सहचारी फेरिए। अनि त्यस ठाउँमा नयाँ मान्छेसँग उनको विचारको मेल भएन र स्वाभिमानका कारणले उनले त्यहाँबाट हात धोए। लामिछाने जागीरकै सिलसिलामा घरेलु कला तथा बिक्री भण्डारमा महाप्रबन्धकमा भर्ना भए। त्यहाँ पनि उनी धेरै समय टिक्न सकेनन्। अनि फेरि उनले सिनेमा हलमा पनि काम गरे। उनले नेपालकै पहिलो सिनेमा हल जनसेवा सिनेमा हलमा व्यवस्थापकका रूपमा काम गरे। त्यतिमात्र होइन उनले होटल शङ्करदेखि शङ्कर ट्राभल्स एन्ड टुर्ससम्म पनि जागीर खाए। ती ठाउँहरूमा पनि उनी सफल भएनन्।