Organized by नेपाल एकेडेमीको डबली
अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको उपन्यास फुर्के शनिबार असोज १ गते नेपाल एकेडेमीको डबलीमा विमोचन गरियो । विमोचनमा कुकुरप्रेमी सेलिब्रिटीहरूका रोचक अनुभव सुनियो ।
‘फुर्के’लाई प्रख्यात गीतकार विप्लव प्रतीक, नेपाली क्रिकेट क्षेत्रका चर्चित अनुहार पारस खड्का, लेखक स्वयंले विमोचन गर्नु भएको हो ।
कार्यक्रममा गीतकार प्रतीकले लामो समयदेखि अभिनेता खगेन्द्र लामिछानेसँगको संगत स्मरण गर्दै उनका फिल्म, नाटक तथा लेखनीको प्रशंसक रहेको बताउनु भयो । फुर्के उपन्यासले आफूलाई कुकुरप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा क्रिकेटर पारस खड्काले आफू कुकुरप्रेमी भएको र घरमा दुई वटा सन्तान पालेको बताउँदै यस्ता किताबले कुकुरप्रति सोच्ने धारणामा फरक ल्याउन सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले अचेल कुकुर पाल्नु फेसनजस्तो भए पनि कुकुरलाई मनैदेखि स्याहार गर्न नसक्नेले बरू नपालेकै बेस रहेको टिप्पणी गर्नुभयो ।
फुर्के उपन्यास पढेर आफू ज्यादै प्रभावित भएको भन्दै उहाँले अर्को कुकुर पालेको खण्डमा त्यसको नाम फुर्के राख्नेसमेत सो अवसरमा घोषणा गर्नुभयो ।
सो अवसरमा प्रकृति भट्टराई बस्नेतले लेखकसँग उपन्यास संवाद पनि गर्नु भएको थियो । सो संवादमा जीवनमा पहिलो पटक कुकुर पाल्दाको अनुभव बाँड्दै उहाँले काठमाडौँबाट पहाडमा भोटे कुकुर लैजाँदाको रोमान्च, कुकुरले भान्जाको आची खाएपछि लागेको घिन र छिमेकी भाइलाई दिएको तथा छिमेकी भाइकहाँ सो कुकुर मरेपछि लागेको दिग्दारीका बारेमा लामिछानेले बताउनु भएको थियो । उहाँले आफ्नो भित्री दिमागमा सोही कुकुरप्रेम बसेका कारणले यो पुस्तक जन्मेको हुनसक्ने बताउनु भयो ।